=> नैतिक विधि र विधान सम्बन्धि उक्त सानो कथा विद्यार्थीहरूमा केही शिक्षा र दीक्षा दिने हेतुले रामायणबाट उद्धृत गरिएको हो। उक्त उद्धृतांशले परापुर्वकालदेखी नै चलिआएको "जस्तो कर्म गर्यो उस्तै फल मिल्छ " भन्ने वेद र वाणीलाई विद्यार्थीहरूमाझ छर्लङ्ग पनि पारेको छ । हुन पनि हो, आजसम्मको इतिहासमा सत्य र असलमाथि असत्य र खराबले कहिल्यै विजय हात पार्न सकेको छैन । कथाले पनि लक्ष्मणका विचारमार्फत विद्यार्थीहरूलाई खराब काम गरे त आफ्नै दुर्दशा हुने रहेछ भन्ने विचार विमर्श गरेको छ ।
कथामा रावण खलनायक पात्रका रूपमा उभिएका छन् र उनका आफ्नै कुकर्मले उनलाई विनाशको मार्गमा डोर्याउँछन् । युद्ध सकिएपछिको रात लक्ष्मण यसै विषयमा सोच्दै हुन्छन् । उनको मनमा रावणको दुर्दशा हुनुका विभिन्न कारणहरू एक पछि एक उत्पन्न हुन थाल्छन् जसकारण उनी निदाउन पनि सकिरहेका हुदैनन् । उनलाई लाग्छ," मान्छेले खराब काम कहिल्यै गर्नुहुँदो रहेनछ । आफूसँग बढी ज्ञान र सीप छ, आफू प्रतिभावान् छ भनेपनि यदि मान्छेले बढी अहङ्कार गर्छ भने, मै हुँ भन्छ भने, अरूले तपाई भनोस् नभनोस् आफैँ मपाई भन्छ भने र अरूको श्रीसम्पत्ति हडप्ने तिर लाग्छ भने उसको विनाश पक्का रहेछ ।" लक्ष्मण अझैँ सोच्छन् ,"रावण ठुलै विद्वान र ज्ञानी हुन् । उनी युगकै वीर र वैज्ञानिक पनि हुन् । उनले ठुलै विद्या हासिल गरेका थिए । उनले आफ्नो देशमा ठुलै विकाश पनि गरेका थिए । तर के गर्ने उनमा संसारमा म भन्दा ठुलो कोही छैन भन्ने घमण्ड भयो । लोभ, लालचा बढ्यो, सीतालाई अपहरण गरे । अझ पछि विभीषणले सम्झाएका पनि रहेछन् तर रावणले भने विभीषणलाई कुल द्रोही भनेर गाली गर्न समेत पछि परेनन् । आखिर बुद्धि बिग्रिएकालाई कसले पो सम्झाउन सक्छ र ? अनि खराब मार्गमा लागेकालाई मृत्युको मुखबाट बचाउन पनि सकिदो रहेनछ । आखिर सकिने भए विभीषणले आफ्नै दाजुसँग किन पो युद्ध गर्थे होला र ? यसरी रावणको आफ्नै अहङ्कार र घमण्डले डोर्याएको कुकर्मको परिणाम स्वरुप उनको सारा वैभव, शक्ति र जीवनसमेत समाप्त भयो ।"
यसरी लक्ष्मण रावणको उच्च अहम् भावना र अहङ्कार अनि मै हुँ भनेर अर्काको श्रीसम्पत्ति हडप्ने जालझेल नै रावणको दुर्दशाको कारण मानिरहेका थिए । र अन्त्यमा उक्त उद्धृतांशले हामी विद्यार्थीहरू माझ कहिल्यै पनि आफूमा अहङ्कारको भावना नराख्ने र अरूलाई पनि ठेस नपुर्याउने वा ठेस पुग्ने कुनै पनि काम नगर्ने अत्यन्तै गहन र नैतिकवान् सन्देश दिएको छ ।
No comments:
Post a Comment